उच्च शिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छ : प्रधानमन्त्री



काठमाडौं पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई सोमबार भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्छ भने । प्रधानमन्त्रीले भने, ‘‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ । यसका लागि उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै जानुपर्छ ।” उनले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहेको भएकाले आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिकालाई अझ बढाउँदै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्