ओनिम्सले भर्चुअल माध्यमबाट मनायो स्थापना दिवस



काठमाडौं पुस १४ । गणित विज्ञानमा नेपाली महिला (WONIMS)ले स्थापना दिवस मनाएको छ ।

गणित समाजका पूर्वअध्यक्ष प्रा.डा. शंकरराज पन्तको प्रमुख आतिथ्यतामा ओनिम्सले सोमबार भर्चुअल मिटिंग गरी स्थापना दिवस मनाएको हो । संस्थाकी उपाध्यक्ष डा. निलम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम सदस्य तारा पौडेलले सञ्‍चालन गरेकी थिइन् ।

ओनिम्सका जन्मदाता स्व. प्रा.डा. राममान श्रेष्ठलाई सम्झँदै सुरुवात गरिएको कार्यक्रममा खरिका पराजुलीले Receating School mathematics blending vedic arts and cultural artifacts, सरस्वती आचार्यले Digital Technologies and Mathematics र सुष्मिता पाठकले Teaching Mathematics in Virtual Setting शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पराजुलीले प्रस्तुत गरेको कार्यपत्रमा दैनिक उपभोग्य सामग्रीमार्फत सिर्जनात्मक गणितको उपयोग दर्शाइएको थियो । डा. आचार्यले गणितलाई आईसीटीसँग जोडेर पढाइनुपर्नेमा जोड दिँदै पठनपाठनका लागि उपयोगी वेभसाइटहरु प्रस्तुत गरेकी थिइन् ।

पाठकले गणितलाई भर्चुअल टुल्स र त्यसको प्रयोगद्वारा विद्यार्थीहरु भर्चुअल कक्षामा पूर्ण रुपमा संलग्न हुन, अन्वेषण गर्न, जानेका कुरा बुझाउन, त्यसलाई विस्तार गर्नुका साथै मूल्यांकन पाटोसम्म समावेश हुने गरी सफल रुपमा कसरी कक्षा सञ्‍चालन गर्न सकिन्छ भन्नेबारेमा उदाहरणसहित प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा गणित शिक्षा परिषद्का उपाध्यक्ष उमानाथ पाण्डे, महासचिव रमेश अवस्थी, गणित केन्द्रका अध्यक्ष प्रा.डा. सिद्धि कोइराला, Graduate school of education का Vice co-ordinate प्रा.डा. एकारत्न आचार्य, सहप्राध्यापक बद्रीलक्ष्मी वैद्यलगायत विभिन्न विद्यालय, क्याम्पसमा गणितसँग आबद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि डा. शंकरराज पन्तले ओनिम्सले गरेको कार्यको प्रशंसा गरे । उनले अहिलेको समयमा समयसापे़क्ष कार्यपत्र प्रस्तुत गरेको भन्दै बधाईसहित सफलताको शुभकामना दिएका थिए । त्यस्तै अन्य अतिथिहरुले प्रस्तुत गरिएका कार्यपत्रहरु उपयोगी र प्रयोगात्मक गणितसँग अन्तरसम्बन्धित भएको भन्दै प्रशंसा गरे । उनीहरुले यस्ता खालका प्रस्तुतिहरुले गणितलाई सहज, सरल र व्यवहारिक जीवनसँग जोडेर अगाडि बढाउन ओनिम्स सदैव क्रियाशील भएर अगाडि बढ्नेमा विश्‍वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्