अनेरास्ववियूद्वारा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा



काठमाडौं पुस १९ । प्रधानमन्त्री केपी ओलीद्वारा पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै चालिएको प्रतिगमनकारी र अलोकतान्त्रिक कदमविरुद्ध अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

अनेरास्ववियू केन्द्रीय कमिटीले मंगलबार बागबजारस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सहसंयोजक रञ्जित तामाङले संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चँदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरतापूर्ण कार्य नगर्न चेतावनी दिए । उनले नागरिकको वाक स्वतन्त्रता र मौलिक हकलाई सत्ताको बुटले कुल्चने धृष्टता गरेमा त्यसको सशक्त प्रतिरोध गर्न बाध्य हुने उनको भनाइ थियो ।

दोस्रो चरणका सङ्घर्षका कार्यक्रमहरु :
• पौष २१ गतेदेखि – ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने
• पौष २१ गते – प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने।
• पौष २२ गते – उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सि्टी/लाठी जुलुस ।
• पौष २३ गते – देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन ।
• पौष २४ गते – सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।
• पौष २५ गते -असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।
• पौष २६ गते-बयलगाडा प्रदर्शन।
• पौष २७ गते – प्रतिगमनको बिरुद्ध सडक कविता गीत / गजल कार्यक्रम गर्ने ।
• पौष २८ गते – सडक नाटक / सडक आर्ट ( स्ट्रिट वाल पेन्टिङ)
• पौष २९ गते – सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन।

तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिने नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

शैक्षिक सङ्घर्ष
• संघीय संसदवाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भुमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने
• कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने ।

प्रतिक्रिया दिनुहोस्