योग अध्यापनमा नेपालीलाई अष्ट्रेलियामा अवसर



काठमाडौं पुस २१ । अष्ट्रेलियामा नेपालीद्वारा सञ्चालित शिक्षालयलाई योग शिक्षामा विशिष्ट स्नातक तहसम्मको अध्यापन गर्न पाउने गरी इजाजत प्राप्त भएको छ ।

विश्व योग अलायन्स तथा योग अलायन्स इन्टरनेशनल, अष्ट्रेलियाली ट्रेड फेयरले लामो अध्ययन अनुसन्धान र प्रक्रिया पूरा गरेपछि निर्धारित पाठ्यक्रमलाई मान्यता दिँदै इजाजत दिएको हो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजअन्तर्गत ‘महाशक्ति खुशी योग (महायोग कलेज)’ नामको शिक्षालयलाई इजाजत दिएको आचार्य राजन शर्माले जानकारी दिए ।

योग शिक्षाको शोध, अध्यापन र प्रवद्र्धन गर्दै आउनुभएका नेपाली योग गुरु शर्मा प्रमुख प्राचार्य रहने गरी इजाजत दिइएको हो । सो शिक्षालयले विश्वभरनै आफ्नो शाखा सञ्चालन गर्न पाउने तथा अनलाइनमार्फत स्नातक तहसम्मका कक्षा सञ्चालन गर्न पाउने भएको छ । अष्ट्रेलियास्थित भिक्टोरिया विश्वविद्यालयअन्तर्गत एजुकेशन सेन्टर अष्ट्रेलियाको समेत समन्वयमा कक्षा सञ्चालन गर्न सरोकार भएका निकायबीच सम्झौता भएको कलेजका प्रमुख आचार्य शर्मा (भीमसेन सापकोटा) ले बताए ।

यसअघि समाजलाई २०० घण्टे आधारभूत योग शिक्षक अध्यापनको मात्र इजाजत थियो । विश्वका योग अलायन्सले मान्यता दिएको पाठ्यक्रममा आधारित रहेर समाजले अनलाइनमार्फत २०० घण्टे अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण नेपालीका लागि निःशुल्क प्रदान गर्दै आएको छ । नेपालबाट सिक्न चाहनेका लागि पूर्ण छात्रवृत्ति तथा निःशुल्क शिक्षा प्रदान गरिने र प्रति प्रशिक्षार्थीबापतको बीमा र अन्य शुल्क कलेजका प्राचार्य शर्माले व्यक्तिगतरुपमा ब्यहोर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्