ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध महेन्द्रनगरमा मसाल जुलुस



कञ्‍चनपुर पुस २७ । नेकपा निकट अनेरास्ववियूले सोमबार साँझ कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार मसाल जुलुस प्रदर्शन गरेको हो । महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट सुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत थियो । विरोध सभामा बोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रतिगमनकारी कदम फिर्ता नहुँदासम्म युवा विद्यार्थीले सडक नछाड्ने बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरीले समेत सम्बोधन गरेको संयोजक वीरेन्द्र विष्टले जानकारी दिए । अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ । उक्त संगठनले आइतबार भने बयलगाडा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्