न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल



तनहुँ माघ ३ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा शनिबार आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिए ।

वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान कांग्रेस तयार रहेको बताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ भने । जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्