ओलीलाई योगेशको जवाफ- ‘केटो भनिपाउँदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो’



काठमाडौं माघ ३ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूप्रति गरेको टिप्पणी कडा जवाफ फर्काएका छन् ।

शनिबार राति फेसबुकबाट भट्टराईले आफूलाई केटो भनेकोमा दु:ख नलागेको भन्दै बरु ओलीको स्तर थाह पाएको प्रतिक्रिया जनाएका छन् । ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

ओली समूहको प्रदेश नम्बर १ स्तरीय भेलामा शनिबार काठमाडौंमा सम्बोधनमा ओलीले पूर्व पर्यटनमन्त्री भट्टराईप्रति लक्षित गर्दै मन्त्री बनाएपछि लात्ताले हानेर भागेको आरोप लगाएका थिए । उनले भनेका थिए,‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडीदौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराई लगायत दाहाल–नेपाल समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । ओलीले संविधान मिचेर संसद् विघटन गरिदिएपछि नेकपा दुई खेमामा विभाजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्