गोली हानी अफगानिस्तानमा दुई महिला न्यायाधीशको हत्या



काबुल माघ ४ । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ ।

पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ । अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ ।

दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए ।

अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्