नेकपा उपाध्यक्ष गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा



काठमाडौं माघ १४ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।

ललितपुरको धोबीघाटमा बुधबार आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् । एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुन: एकीकरणको योजना दुई चरणमा गरिने पनि बताएका छन् ।

पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रमण सर्वोच्चको फैसला आएपछि सुरु हुने गौतमले सार्वजनिक गरेको पार्टी एकीकरणसम्बन्धीको अवधारणापत्रमा उल्लेख छ । दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुने पनि बताइएको छ ।

नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताए । ‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन’ गौतमले भने, ‘प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’

आफ्नो अभियानमा दाहाल र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए । यदि पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए । यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरेका छन् । त्यस्तै पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्कमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको पनि उनले बताए ।
‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुऱ्याउँदै छु मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो,’ उपाध्यक्ष गौतमले भने । ‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ । प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवार हुनुहुन्छ,’ गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्