तीन सातामा विराटनगर आईसीपीमा कार्गो रेल



विराटनगर,मंसिर ११। गत बुधवार नेपाल–भारत सीमाक्षेत्रमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा निकै चहलपहल थियो । नेपाल र भारतका कर्मचारीहरू फोटो खिच्न तँछाडमछाड गर्दै थिए । भारतको बथनाहाबाट नेपालको रानीमा रहेको आईसीपीसम्म २५ ओटा डब्बासहितको यात्रुवाहक रेल आएको थियो ।

यसअघि ब्रोडगेज परीक्षणका लागि पटकपटक रेलको इन्जिन आए पनि पूर्णरूपको रेल आएको थिएन । यो ब्रोडगेजमा मालवाहक डब्बामात्र आउने हो । बुधवार भने यात्रुवाहक रेलमा भारतीय अधिकारी चढेर परीक्षणका लागि आएका थिए । भारतीय पक्षले बथनाहाबाट साढे ७ किलोमीटर उत्तरपूर्वको बुधनगर आईसीपीसम्म रेलवेको सम्पूर्ण काम सम्पन्न गरिसकेको छ । उनीहरूले परीक्षणसमेत पास गरिसकेका छन् । नेपालबाट सम्झौताको लागि तयार रहेको खबर पाउनासाथ भारतले डिसेम्बर १५ देखि लगातार नियमित कार्गो रेल सञ्चालनका लागि हस्तान्तरण गर्ने भन्दै त्यसका लागि तयार रहन भनेको छ । नेपाली पक्षले पनि काम सम्पन्न भइसकेको जानकारी दिएको छ । सोहीअनुसार तयारी पनि गरेको छ ।

भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गो रेल ल्याउन सक्ने जानकारी दिन बुधवार स्थलगत निरीक्षण गरेर फर्केको छ । भारतीय रेलवे विभागअन्तर्गत एनएफ रेलवे कटिहार मण्डलका कर्नलसहितको टोली बुधवार रेलमै आएर कस्टम यार्डको निरीक्षण गरेर फर्केको हो ।

रेलवे विभागअन्तर्गत बथनाहा–कटहरी रेलवेका साइट इन्जिनीयर रोशनकुमार देवले भारतीय रेलवे विभागका अधिकारीहरू अन्तिम तयारीमा जुटेको बताए । उनले नेपाल कस्टम यार्डको तयारीका लागि आवश्यक पर्ने सामान लिएर आउनेजाने कामका लागि उनीहरू रेल लिएरै आउने गरेको बताए । भारतीय रेलवे अधिकारीहरूले आफ्नो प्रयोजनका लागि रेल लिएर आउने विषय जानकारीमा नभए पनि आगामी डेढ महीनामा कार्गो रेल सञ्चालनको प्रक्रियामा रहेको इन्जिनीयर देवले जानकारी दिए ।

आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउन आवश्यक पूर्वाधार तयार गर्ने कामसमेत अघि बढाइएको छ । हस्तान्तरणको कुरा चलिरहेको र त्यसका लागि आवश्यक तयारीमा दुवैतर्फको टोली लागेको बताइएको छ ।

‘भारतीय रेलवे विभागले कस्टम यार्डसम्म काम सम्पन्न भएको पत्र पठाइसकेको छ,’ इन्जिनीयर देवले भने, ‘नेपालको रेल विभाग र भारतको इर्कोनले सुझावसहितको अन्तिम परीक्षण प्रतिवेदन पठाएका छन् । सुझावका आधारमा त्यसको अन्तिम प्रक्रिया भारतीय रेलवे विभागले सम्पन्न गरिसकेको छ ।’।

इन्जिनीयर देवका अनुसार भारत सरकारले नेपालको भौतिक पूर्वाधार मन्त्रालयलाई रेलवे हस्तान्तरण गर्नेछ । त्यसपछि यसको सञ्चालन प्रक्रिया अघि बढ्नेछ । त्यसका लागि आईसीपीसँग ‘लिंकअप वे’ निर्माणको काम अघि बढाइसकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले कस्टम यार्ड र आईसीपीबीचको ‘लिंकअप वे’को टेन्डर आह्वान गरिसकेको छ ।

विराटनगरका उद्योगी व्यवसायीले आईसीपीसम्म परीक्षण गरिसकिएको रेलमार्ग प्रयोगमा चाँडो ल्याउन सके त्यसको फाइदा नेपाललाई हुने बताउँदै आएका छन् । रेलमार्गमा नेपाली कस्टम यार्ड आईसीपीसँगै नभएका कारण नेपाली पक्षले रेलको कन्टेनर यार्ड र पहुँच मार्ग निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिले भइरहेको २ सय मीटर सडकलाई स्तरोन्नति गरिनेछ ।

भारत सरकारले सीमावर्ती रेलवे स्टेशन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमीटर रेलमार्ग बनाइदिने सहमतिअनुसार काम भइरहेको छ । कटहरी गाउँपालिकामा मुआब्जा विवादले भारत सरकारलाई नेपालले जमीन हस्तान्तरण गर्न नसक्दा अन्तिम स्टेशनमा काम रोकिएको छ । बथनाहादेखि आईसीपीसम्मको ७ दशमलव ६ किलोमीटर रेलमार्ग भने सञ्चालनका लागि योग्य भएको छ । विराटनगरको आईसीपीदेखि थप १० किलोमीटरमा समेत धमाधम काम भइरहेको छ ।

रेलमार्गको १८ दशमलव ६ किलोमीटरमध्ये निर्माण सकिएको ७ किलोमीटर बाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमीटरमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो । नेपाल कस्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभरहेड ब्रिज बनाउने कामसमेत सम्पन्न भएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्