छ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने क्रिस्टियानो रोनाल्डो, पोर्चुगलको शानदार जित
एजेन्सी,असार १० । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। ४१ वर्षीय रोनाल्डो विश्वकपका छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।
उनको दुई गोलको मद्दतमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित गर्दै समूह ‘के’ मा शीर्ष स्थान कब्जा गरेको छ। ह्युस्टनमा भएको खेलको छैटौं मिनेटमै रोनाल्डोले गोल गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। जोआओ क्यान्सेलोको क्रसलाई उनले आकर्षक हाफ–भलीमार्फत जाली चुमाएका थिए।
यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बने। यसअघि क्यामरुनका रोजर मिल्लाले सन् १९९४ मा ४२ वर्षको उमेरमा गोल गर्दै कीर्तिमान बनाएका थिए।
प्रतियोगिताको पहिलो खेलमा डिआर कङ्गोसँग बराबरीमा रोकिएको पोर्चुगलले उज्बेकिस्तानविरुद्ध भने सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो। १७औं मिनेटमा नुनो मेन्डेसले फ्रिकिकमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
उज्बेकिस्तानले एक अवसरमा गोल फर्काएको जस्तो देखिए पनि रेफ्रीले फाउल ठहर गर्दै गोललाई मान्यता दिएनन्। त्यसपछि ३९औं मिनेटमा ब्रुनो फर्नान्डेजको उत्कृष्ट पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को सहज अवस्थामा पुर्याए।
दोस्रो हाफमा उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभबाट आत्मघाती गोल भएपछि पोर्चुगलको अग्रता अझ फराकिलो बन्यो। खेलको ८७औं मिनेटमा वैकल्पिक खेलाडी राफाएल लियाओले शानदार गोल गर्दै ५–० को जित सुनिश्चित गरे।
यस जितसँगै पोर्चुगल समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। रोनाल्डोको विश्वकप गोल संख्या अब १० पुगेको छ। उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार छ विश्वकपमा गोल गर्ने दुर्लभ उपलब्धि हासिल गरेका छन्।
यता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पनि हालै विश्वकपमा आफ्नो गोल संख्या १८ पुर्याउँदै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। विश्वकपमा सर्वाधिक खेल खेल्ने सूचीमा मेस्सी २८ खेलसहित शीर्ष स्थानमा छन् भने रोनाल्डोले २४ खेल खेलिसकेका छन्।

