सुचिच र भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया अन्तिम ३२ मा



एजेन्सी,असार १४ । पेटार सुचिच र निकोला भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसियाले घानालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

समूह ‘एल’ अन्तर्गत भएको खेलमा जित निकालेसँगै ज्लाट्को डालिचको टोली ३ खेलबाट ६ अंक जोड्दै समूह उपविजेता बन्यो। यस समूहबाट इंग्ल्यान्ड ७ अंकसहित विजेता रहँदा घाना ४ अंकका साथ तेस्रो स्थानमा सीमित भयो। पानामा भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।

क्रोएसियाले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। १७औं मिनेटमा निकोला भ्लासिचको करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार पोस्टको बाहिरी भागमा लाग्दै फर्किएको थियो।३१औं मिनेटमा पेटार सुचिचले करिब ३० यार्ड टाढाबाट गरेको आकर्षक प्रहार गोलमा परिणत भएपछि क्रोएसियाले अग्रता लियो। पहिलो हाफमा घानाले एन्टोइन सेमेन्योको एक प्रहार बाहेक उल्लेखनीय अवसर सिर्जना गर्न सकेन।

दोस्रो हाफमा भने घानाले खेलमा सुधार गर्दै दबाब बढायो। त्यसको फलस्वरूप ७३औं मिनेटमा डेरिक लकासेनले फ्रिकिकबाट आएको बललाई नजिकबाट गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए। तर १० मिनेटपछि नै क्रोएसियाले फेरि अग्रता बनायो। ८३औं मिनेटमा कप्तान लुका मोड्रिचको कर्नरमा कुनै रक्षकको निगरानीमा नरहेका भ्लासिचले हेडमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

यससँगै क्रोएसियाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। अर्को खेलमा इंग्ल्यान्डले पानामालाई २–० ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ।

यस खेलमा गोल गरेका २२ वर्ष २४५ दिनका पेटार सुचिच फिफा विश्वकपमा क्रोएसियाका लागि गोल गर्ने दोस्रो कान्छा खेलाडी बने। यसअघि सन् २०२२ को विश्वकपमा मोरक्कोविरुद्ध २० वर्ष ३२८ दिनका जोस्को ग्भार्डियोलले उक्त कीर्तिमान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्