बेलिङ्घम र केन चम्किँदा इङ्ल्यान्ड समूह विजेताका रूपमा अन्तिम ३२ मा
एजेन्सी,असार १४ । जुड बेलिङ्घम र ह्यारी केनको दोस्रो हाफको उत्कृष्ट प्रदर्शनमा इङ्ल्यान्डले पानामालाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘एल’को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
न्युयोर्क/न्यु जर्सी स्टेडियममा वर्षाका बीच सम्पन्न खेलमा पानामाले पहिलो हाफभरि इङ्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो। तर दोस्रो हाफमा बेलिङ्घम र केनले गोल गर्दै इङ्ल्यान्डलाई सहज जित दिलाए।
सन् २०१८ को विश्वकपमा पानामालाई ६–१ ले पराजित गरेको इङ्ल्यान्डलाई यसपटक भने प्रशिक्षक थोमस क्रिस्टियान्सेनको अनुशासित टोलीले पहिलो हाफभरि संघर्ष गर्न बाध्य बनायो। घानाविरुद्धको बराबरीपछि प्रशिक्षक थोमस टुकेलले टोलीमा पाँच परिवर्तन गर्दै मोर्गन रोजर्स, मार्कस रासफोर्ड र बुकायो साकालाई सुरुआती रोजाइमा राखेका थिए।
पहिलो हाफमा रासफोर्ड इङ्ल्यान्डका सबैभन्दा खतरनाक खेलाडी बने। उनको शक्तिशाली प्रहारलाई पानामाका गोलरक्षक ओरलान्डो मोस्केराले बचाए भने इलियट एन्डरसनको क्रसमा गरेको हेडर गोलपोस्टमाथिबाट बाहिरियो।
पानामाले पनि केही अवसर सिर्जना गरेको थियो। पहिलो ‘हाइड्रेसन ब्रेक’पछि जोसे लुइस रोड्रिगेजको शक्तिशाली प्रहारलाई गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गरेका थिए।
दोस्रो हाफमा भने खेल पूर्ण रूपमा इङ्ल्यान्डको नियन्त्रणमा रह्यो। ६२औँ मिनेटमा बुकायो साकाको कर्नरमा आफ्नो मार्करलाई छल्दै बेलिङ्घमले भलीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। जारी विश्वकपमा यो उनको दोस्रो गोल हो।
त्यसको पाँच मिनेटपछि बेलिङ्घमकै आकर्षक क्रसमा कप्तान ह्यारी केनले हेडमार्फत गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर बनाए। जारी विश्वकपमा केनको यो तेस्रो तथा समग्रमा ११औँ गोल हो। यससँगै उनले विश्वकपमा इङ्ल्यान्डका लागि सर्वाधिक १० गोल गर्ने ग्यारी लिनेकरको कीर्तिमान तोडे।
खेलको अन्त्यतिर जोसे फाजार्डोले पानामाका लागि गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। प्रतियोगिताभरि एक गोल पनि गर्न नसकेको पानामा अंकविहीन रहँदै समूह चरणबाट बाहिरियो। इङ्ल्यान्डले तीन खेलबाट सात अंक जोड्दै समूह विजेता बनेर अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। अब उसले जुलाई १ मा एटलान्टामा समूह ‘ई’, ‘एच’, ‘आई’, ‘जे’ वा ‘के’ मध्ये उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
समूहको अर्को खेलमा क्रोएसियाले घानालाई २–१ ले पराजित गर्दै उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्यो। घाना पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम ३२ मा पुगेको छ। यस खेलसँगै गोलरक्षक जोर्डन पिकफोर्डले विश्वकपमा इङ्ल्यान्डका लागि आफ्नो १५औँ खेल खेल्दै सर्वाधिक विश्वकप खेल्ने इङ्लिस खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनले बबी मुर, बबी चार्लटन, टेरी बुचर र एश्ली कोललाई पछि पारेका छन्। उनीभन्दा अगाडि १७ खेल खेलेका पिटर शिल्टन मात्र छन्।
जितपछि प्रशिक्षक थोमस टुकेलले टोलीले आफ्नो पहिलो लक्ष्य पूरा गरेको बताउँदै नकआउट चरणबाट वास्तविक चुनौती सुरु हुने प्रतिक्रिया दिए। प्लेयर अफ दि म्याच जुड बेलिङ्घमले पनि समूह विजेता बन्न सफल भएकोमा खुशी व्यक्त गर्दै टोली हरेक खेलसँगै अझ सुधार हुँदै गएको बताए। उनले विश्वकपमा नयाँ कीर्तिमान बनाएका कप्तान ह्यारी केनलाई बधाई दिँदै उक्त उपलब्धिका पूर्ण रूपमा हकदार रहेको उल्लेख गरे।

