आकाशतिर हेर्दै किसान, सुस्त बन्दै धान रोपाइँ



काठमाडौं, असार १५ — राष्ट्रिय धान दिवस मनाइरहेका बेला बागमती प्रदेशका धेरै किसान भने अझै पनि खेतमा होइन, आकाशतिर आँखा लगाइरहेका छन्। पर्याप्त वर्षा नहुनु, सिँचाइ सुविधा सीमित हुनु र मनसुन सक्रिय हुन ढिलाइ हुँदा प्रदेशभर धान रोपाइँ अपेक्षाकृत सुस्त बनेको छ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष हालसम्म प्रदेशको कुल १ लाख १४ हजार ५२९.४ हेक्टर धानखेतीयोग्य क्षेत्रमध्ये १४ हजार ४१९.५२ हेक्टर अर्थात् १२.५९ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा भने २०.५१ प्रतिशत रोपाइँ भइसकेको थियो।

बाली विकास अधिकृत गणेश भाट क्षेत्रीका अनुसार यस वर्ष वर्षाको अनियमितता र मनसुन ढिलो सक्रिय भएका कारण रोपाइँ प्रभावित भएको हो। विशेषगरी बागमतीका अधिकांश पहाडी जिल्लामा किसान आकाशे पानीकै भरमा खेती गर्न बाध्य भएकाले पर्याप्त वर्षा नहुँदा खेतमा रोपाइँ अघि बढ्न सकेको छैन।

रोपाइँको प्रगतिमा भने काठमाडौं जिल्ला सबैभन्दा अगाडि देखिएको छ। यहाँ हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि ललितपुर र भक्तपुरमा ५५–५५ प्रतिशत, काभ्रेपलाञ्चोकमा २६ प्रतिशत, दोलखामा १५ प्रतिशत, रामेछापमा १२ प्रतिशत, सिन्धुपाल्चोकमा १०.२० प्रतिशत, सिन्धुलीमा १०.१६ प्रतिशत, रसुवामा ८.४२ प्रतिशत र नुवाकोटमा ७ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ।

तर प्रदेशका मुख्य धान उत्पादन हुने जिल्लामै रोपाइँको अवस्था चिन्ताजनक छ। चितवनमा ०.४४ प्रतिशत, धादिङमा ०.८५ प्रतिशत र मकवानपुरमा १.१८ प्रतिशत मात्रै रोपाइँ भएको छ। यी जिल्लामा पर्याप्त वर्षा नहुँदा किसानले खेत तयार गरे पनि रोपाइँ सुरु गर्न सकेका छैनन्।

बागमती प्रदेशमा कुल ४ लाख २६ हजार ५५६.८ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये चितवन, मकवानपुर, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा धानखेतीको ठूलो क्षेत्रफल रहे पनि यस वर्षको रोपाइँको गति निकै सुस्त देखिएको छ।
मनसुन पूर्ण रूपमा सक्रिय भई पर्याप्त वर्षा भए आगामी केही दिनमै रोपाइँले गति लिने कृषि प्राविधिकहरूको अपेक्षा छ। तर वर्षा थप ढिलो भए धान उत्पादनमा समेत असर पर्ने चिन्ता बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्