नुवाकोटको लिखुमा हिलोमा रमाउँदै खेतीको उत्सव : असार १५ ले जगायो कृषि संस्कृतिको गौरव
नुवाकोट, असार १५ — ‘मानो रोपेर मुरी उब्जाउने’ नेपाली उखानलाई व्यवहारमा उतार्ने दिनका रूपमा परिचित असार १५ आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाइँदै छ। खेतका गह्रामा रोपाइँ, हिलो खेल्ने रमाइलो, दही–चिउराको स्वाद र कृषिप्रतिको सम्मानले यो दिनलाई नेपाली कृषि संस्कृतिको जीवन्त पर्व बनाएको छ।
यही अवसरमा नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ सम्पन्न भएको छ।
महोत्सवमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नुवाकोटकी डीएसपी गंगा केसी, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठसहित जनप्रतिनिधि, सरकारी अधिकारी, कृषि प्राविधिक, विद्यार्थी र स्थानीयवासीले एकैसाथ खेतमा धान रोप्दै असार १५ को उल्लास साझा गरेका थिए।
कार्यक्रम केवल औपचारिकतामा सीमित रहेन। सहभागीहरू हिलोमा रमाए, परम्पराअनुसार दही–चिउरा खाए र कृषिलाई सम्मान गर्ने नेपाली मौलिक संस्कृतिको सन्देश फैलाए। उनीहरूले धान उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग र युवापुस्तालाई कृषिप्रति आकर्षित गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
नेपाल सरकारले वि.सं. २०६१ सालदेखि असार १५ लाई आधिकारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। त्यसयता हरेक वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्थानीय तह र कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले रोपाइँ महोत्सव आयोजना गर्दै धान खेतीको महत्व, खाद्य सुरक्षा र कृषि संस्कृतिको संरक्षणबारे जनचेतना फैलाउने गरेका छन्।
कृषिप्रधान देश नेपालमा असार १५ केवल रोपाइँको दिन मात्र होइन, किसानको श्रम, प्रकृतिसँगको सहकार्य र खाद्य आत्मनिर्भरताप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।हिलोमा रमाउँदै मनाइने यो पर्वले नेपाली समाजलाई कृषि उत्पादनसँगै संस्कृति र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाइरहेको छ।

