नुवाकोट पञ्चकन्यामा धानबाली क्षतिपूर्ति वापतको राहत रकम खातामा, ४०६ कृषक लाभान्वित



नुवाकोट, असार १९ । गत वर्षको कार्तिक महिनामा भएको धानबाली क्षतिको राहत रकम नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अधिकांश किसानको बैंक खातामा पुगेको छ।

बागमती प्रदेश सरकारले उपलब्ध गराएको क्षतिपूर्ति अन्तर्गत हालसम्म ३९५ जना किसानले राहत रकम प्राप्त गरेका छन्प।ञ्चकन्या गाउँपालिकाको कृषि शाखाका प्रमुख एजिना अधिकारीका अनुसार धान क्षतिको विवरणमा ४०६ जना किसानको नाम समावेश भएको थियो। स्वीकृत भएका ३९५ जना किसानको खातामा प्रति रोपनी १ हजार ५०० रुपैयाँका दरले राहत रकम पठाइसकिएको उनले जानकारी दिए।

यद्यपि सबै किसानले रकम प्राप्त गर्न सकेका छैनन्। अधिकारीका अनुसार ६७ जना किसानको बैंक खाता सक्रिय (एक्टिभ) नभएकाले रकम स्थानान्तरण हुन सकेको छैन। सम्बन्धित किसानले आफ्नो बैंक खाता सक्रिय गराएपछि रकम उपलब्ध गराइने जनाइएको छ।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बागमती प्रदेश सरकारले प्राकृतिक विपद्बाट प्रभावित किसानलाई राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराएको बताउँदै यसले किसानलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।

यसैबीच, धानबाली क्षतिको क्षतिपूर्ति अन्तर्गत नुवाकोटकै विदुर नगरपालिकाका दुई जना कृषकले पनि राहत रकम प्राप्त गरेका छन्। पालिकाले बाँकी किसानलाई आवश्यक प्रक्रिया पूरा गरी बैंक खाता सक्रिय बनाउन आग्रह गरेको छ, ताकि उनीहरूले पनि क्षतिपूर्तिको रकम सहज रूपमा प्राप्त गर्न सकून्।

प्रतिक्रिया दिनुहोस्