प्रचारप्रसार हुन नसक्दा चमेरे गुफा ओझेलमा



दाङ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको दाङको चमेरे गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोट स्थित मुलकोट सामुदायिक वन क्षेत्रमा रहेकोे यो गुफासम्म पुग्ने सहज बाटो र पर्याप्त प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको हो । तुलसीपुर बजारदेखि करीव २५ किलोमिटर अर्थात एक घण्टाको दुरीमा यो गुफा रहेको छ ।निकै विकट क्षेत्रमा रहेको र प्रचारप्रसारको अभावसंगै उक्त स्थानमा पुग्ने सडक, खानेपानी, विद्युत लगायतका अत्यावश्यक पुर्वाधारको अभावले पनि यस स्थानले पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । गुफा व्यवस्थित पनि हुन नसकेकाले अवलोकनमा पनि केही असहज भएको अवलोकनकर्ताहरुको गुनासो छ । गुफाको भित्ताहरुमा विभिन्न देवीदेवताको आकृतिसँगै हजारौका संङख्यामा रहेका चमेरा देख्न सकिन्छ । यो गुफा २०५६ सालमा पत्ता लागेको थियो । तर संकटकालमा गुफा ध्वस्त पार्ने धेरै कोशिसहरु भएको र संरक्षणका लागि कडा संघर्ष गर्नु परेको गुफा संरक्षण समितिले जनाएको छ ।गुफालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरु बनाउन करिब १ अर्बको लगानीमा डिपिआर तयार पारिएको समितिका अध्यक्ष भुप बहादुर पुनले जानकारी दिनुभयो । गुफा संरक्षण तथा विकासका लागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्य डाँगीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्