स्ववियु निर्वाचन एक महिना पछि धकेलियो



काठमाडौं,माघ-२८।स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन झण्डै एक महिनापछि धकेलिएको छ।यस अघि  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका  क्याम्पसमा आउँदो फागुन १४ गतेका निर्वाचनको तयारी गरिएको थियो।


निर्वाचन सर्नुमा निर्वाचनमा मुख्य भूमिका निर्वाह गर्ने  केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी नभएको बताएपछि निर्वाचन मिति सरेको हो।


यस बीचमा विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन ।

नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बताए ।

नेविसङ्घ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान आफूहरूलाई कुनै समस्या नहुने उनको भनाइ छ ।

नयाँ मिति तय गरेर निर्वाचनमा जान सङ्घ तयार रहेको उनले जानकारी दिए ।

अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने झण्डै एक महिना पर सर्ने अवस्था रहेको बताए ।

नेविसङ्घले एक महिना हाराहारीको समय तयारीका लागि चाहिन्छ भनेकाले चैत दोस्रो सातातिर निर्वाचन हुने संयोजक महरको भनाइ रहेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्