पाहुना पर्खदैँ होमस्टे,एकपटक घुमौ प्युठानका गाउँघर



सलिम अन्सारी,प्युठान फाल्गुन-१। सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होमस्टे संचालकहरु भने पाहुना कुर्दै बसिरहेका छन् । जिल्लाका गाउँहरुमा आधा दर्जन होमस्टे संचालनमा छन। ती होमस्टेका संचालकहरु पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई आफ्नो मौलिक लोक संस्कृति देखाएर स्वागत सत्कार गर्न आँतुर देखिन्छन् । स्वर्गद्धारी नगरपालिका २ धनवाङका शिवलाल पुनले गाउँलेहरु पाहुनाको स्वागतका लागि तयार भएको बताउनुभयो ।

होमस्टे आउने पाहुनालाई गाउबासीले बेलुकी मारुनी, पैसेरु,माडिखोले नाच, ठाडे भाकाका स्वर र संगित प्रस्तुत गर्छन । पाहुनालाई गाउँको भुटेको मकै,रोटि,आँटो,ढिँडो सिस्नो,लोकल कुखुरा लगायतका परिकारले स्वागत गर्ने उहाँको तयारी छ । ‘ तर, त्यसका लागि पहिलै सुचना गर्नुपर्दछ । ‘फूलमाला, टीका लगाइदिएर गाउँ आउने पर्यटकलाई स्वागत गर्छौ ।’पुनले भन्नुभयो,’ घरकै खाना खुवाउँछौ ।’ होमस्टेमा एक रातको ८ सय रुपैयाँ लाग्छ, जसमा खाना, बास र खाजा समावेश गरिएको हुन्छ । पर्यटक भित्राएर स्थानीयहरुको आर्थिक स्तरलाई बृद्धि गर्न होमस्टे चलाईएको स्वर्गद्धारी सामुदायीक मगर होमस्टेका अद्यक्ष मीनराज रानाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय पर्यटक आवागमन बढ्न थालेको छ ।’यो बर्ष पर्यटकको संख्या बढ्दो छ, वडा अध्यक्ष रानाले भन्नुभयो,’पाहुनाहरु आउँछन, गाउँले परिवेशमा घुलमिल हुँदै नाच हेर्छन् र गाउँको संस्कृतिमा रमाउँछन् ।’ मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा १६ घरधुरीले होमस्टे चलाईरहेका छन् । यहा एक पटकमा ५० जना पाहुनालाई राख्न सकिन्छ ।पाहुनाहरुलाई बासबस्नको लागी राम्रो व्यवस्था मिलाएका छौँ।’ उहाले भन्नुभयो।’स्वर्गद्धारी पुग्ने पर्यटकलाई धनबाङ ल्याउने योजना छ।धनबाङ बाट स्वर्गद्धारी ८ किलोमिटर दुरीमा पर्छ।’विसं २०६९ सालमा स्थापना भएको यो होमस्टे जिल्लाकै पहिलो हो ।

झिमरुक ४ चौकेका अमर पुनले सांस्कृतिक,राजनितिक र पर्यटकिय महत्वका हिसाबले ओखरकोट क्षेत्र धनी रहेको बताउँदै गाउँमा आउनका लागि निम्तो दिनुहुन्छ । घरमा आएका पाहुनालाई राम्रो स्वागत सत्कार गरि खान बस्न दिने यहाको पुरानो परम्परा हो । यहाका थुप्रै पर्यटकिय स्थान अहिले प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीले थलिएका छन्। यस्तै मारमा यहाँ खुलेका होमस्टे पनि परेका छन्। तर, होमस्टे खुल्ने क्रम भने रोकिएको छैन।जिल्लाको स्याउलीवाङ,झुलेनी, माझकोट , लिघा सहित लेखछहरा,अर्खा, रजवारा, पुजाको वाग्लिवाङ, विजुली लगायतका क्षेत्रमा पनि होम स्टे संचालनका लागि पहल थालिएको छ । तर,यी सबै गाउँको चिन्ता यौटै छ होमस्टेले पाहुना पाउलान त ? ओखरकोट होमस्टेका अद्यक्ष राजेन्द्र बिक्रम सिहँले जिल्लाका पर्यटकिय स्थलहरुको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा राज्यस्तरबाट पनि पहल भएमा प्युठान आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने र गाउँका होमस्टे पनि फस्टाउने बताउनुभयो ।
प्रसस्त पर्यटकहरु भित्राउन खाने पानी, पैदल मार्ग मर्मत सुधार, आवास गृह निर्माण गर्न र अतिथी सम्बन्धि तालिमको आवश्यकता रहेको उहाँको भनाई छ ।
जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशब आचार्यले होमस्टे सञ्चालनले जिल्लाको अर्थतन्त्रमा समेत सघाउने बताउनुभयो । होमस्टेलाई वरपरका पर्यटकीय गतिविधिसँग जोड्दै पुर्वाधार बिकास गरेर पर्यटन मार्फत प्युठान चिनाउने गरी योजना बनाईने उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्