किन जलबिरे लामो झरना प्रवेशमा रोक लगायो ?



चितवन २४ असार । चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ ।

जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका–६ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने क्रम बढ्दै गएपछि कोरोना फैलने त्रासले मङ्गलबारदेखि प्रवेशमा रोक लगाइएको हो । देशमा कोरोना भाइरसको प्रभाव बढ्दै गएका बेला पनि झरना अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि कोरोना फैलने त्रासले पूर्णरूपमा बन्द नै गरिएको जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिए ।

कोरोना सङ्क्रमण बढ्दै गए पनि गर्मी मौसमका कारण झरना घुम्न आउनेको कमी नभएपछि लामो झरना पर्यटन विकास समितिको बैठक बसी मङ्गलबारदेखि नै प्रवेशमा बन्देज लगाइएको अध्यक्ष गुरुङको भनाइ छ ।

उन कोरोनाको त्राससँगै अहिले बर्सातको समयमा भौतिक संरचना पनि बनिरहेकाले सुरक्षाका दृष्टिकोणले पनि जलबिरे लामो झरनामा प्रवेशमा रोक लगाइएको बताए । जलबिरे लामो झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणस्थल हो । यहाँ क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न देशका विभिन्न जिल्ला र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताए । विसं २०६९ देखि पर्यटन विकास शुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्