यस्तो देखिन्छ तस्बिरमा धरहरा, काष्ठमण्डप र रानीपोखरी निर्माण



काठमाडौं, २९ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेका छन् ।

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सोमबार ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो । अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिए ।

समिति सभापति खड्काले विभिन्न समस्याको बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुसी व्यक्त गरे । उनले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्यहरु अघि बढाएको बताए ।

उहाँले संसदका समितिबाट प्राप्त सुझाव तथा निर्देशनहरुले पुनर्निर्माणका कार्यहरु गर्न थप सहयोग पुगेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्