काठमाडौं, नुवाकोट र रसुवा जोड्ने ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदमार्ग प्रवर्द्धन गरिने



काठमाडौं,असार ३० । काठमाडौँको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग सम्भाव्यता अध्ययन गरिएको छ । काठमाडौं, नुवाकोट र रसुवा जिल्लालाई जोड्ने यो पदमार्गको बन्दाबन्दीका बीच स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ ।

नुवाकोट–रसुवा पर्यटन समाज आयोजक तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पदयात्रा मार्गको सम्भाव्यता अध्ययन गरिएको हो । जम्मा आठ दिनको यो पदमार्ग बुढानिलकण्ठ–अल्छे–मानेभञ्ज्याङ–समुद्रटार–बाघमारा–सागरकुण्ड–राउचुली–झ्याकुमभुली–गोसाइकुण्ड पुगेर धुन्चे हुँदै फर्कन सकिन्छ । काठमाडौँको एक हजार ४०० मिटर उचाइदेखि शुरु हुने पदयात्रा चार हजार ३८० मिटरको गासाइँकुण्ड पुगेर समाप्त हुन्छ ।

त्यसो त यो पदमार्ग नयाँ हैन । बुढानिलकण्ठदेखि गोसाइँकुण्डसम्मै ढुँगे सिंडी पदमार्गमा ठूलो धनराशी खर्चिएको पुरानै पदमार्ग हो । हालसम्म रु ८० करोड लगानी रहेको यो पदमार्ग सबैभन्दा बढी सरकारी लगानीको पदमार्ग पनि हो । तर लगानी अनुरुप उपयोग गर्न नसक्दा पदमार्ग ओझेलमा परेको छ ।यो पदमार्गले शिवपुरी नागर्जुन र लाङ्टाङ राष्ट्रिय निकुञ्जलाई समेटेको छ । यस्तै पदमार्गले गोसाइँकुण्ड–धुन्चे पदमार्ग, गोसाईकुण्ड–हेलम्बु–मेलम्ची पदमार्ग, लाङटाङ पदमार्ग, फिकुरी पदमार्ग, तामाङ हेरिटेज पदमार्ग, रुबी भ्याली पदमार्ग र गणेश हिमाल पदमार्गसँगको कनेक्टिभिटी हुन्छ ।

प्राकृतिक, जैविक, र सांस्कृतिक विविधताले परिपूर्ण यो पदमार्गमा अनगिन्ती पवित्र हिमाली ताल, विविध जातजाति, उनीहरुको चाड पर्व र जीवनशैलीको प्रत्यक्ष अवलोकन गर्न पाइने छ । त्यस्तै विभिन्न गुफा, ओडार, चौरीगोठ, भेडीगोठ आदिको पनि यो पदमार्गमा अवलोकन गर्न सकिन्छ । उपत्यका, पहाडी र हिमाली दृश्यको फराकिलो दृश्यावलोकनको अवसर पनि मिल्ने भएकाले सबैखाले पर्यटकका लागि यो पदमार्ग उपयुक्त गन्तब्य बन्ने व्यवसायीको भनाइ छ ।

‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग नयाँ पदमार्ग मात्र नभई यसका अथाह पूर्वाधार पहिल्यै बनिसकेकाले केही पूर्वाधार निर्माण गरी प्रवद्र्धन गरेमा पर्यटन क्षेत्रका लागि नयाँ ‘प्रडक्ट’ हुने प्रतिवेदनको निष्कर्ष छ । पर्यटन व्यवसायी शिव लामिछानेको संयोजकत्वमा छ सदस्यीय टोलीले यही असार १२ देखि १९ गतेसम्म आठ दिन लगाएर यो पदमार्गको स्थलगत अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन र यसको छोटो भिडियो पनि बनाइएको छ । अध्ययन प्रतिवेदन मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमका बीच समाजका अध्यक्ष बलराम न्यौपानेले बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्