तिलिचो ताल सुनसान



काठमाडौं २ साउन । विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ । यसका कारण पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी पनि अहिले चिन्तित छन् । कहिले यो अवस्था सामान्य होला र व्यवसाय सुचारु गरौँला भनेर उनीहरु पर्खिरहेका छन् ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ ।
प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ । यहाँ प्रत्येक याममा १२ हजार देखि १५ हजार स्वदेशी पर्यटकले भ्रमण गर्ने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । गुरुङका अनुसार यस तालमा धरै चलचित्रहरु पनि सुटिङ भएका छन् । नेपाली फिल्मदेखि म्युजिक भिडियो सम्म यहाँ सुटिङका लागि कलाकारहरु आउने गरेका छन् ।

स्वदेशी पर्यटकसँगै तिलिचो तालमा विदेशी पर्यटकको पनि उतिकै भिड हुने गर्छ । मनाङ पुगेका पर्यटक तिलिचो नपुगी कमै मात्र फर्कने गर्छन् । कतिपय पर्यटक तिलिचो तालहुँदै फर्किएर खाङ्सर हुँदै थोराङुला पास गरी मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय तालहुँदै नेसोकुन्डा पास गरी जोमसोम ठिनी पुग्ने गर्छन् । वर्षमा ३० हजार विदेशी पर्यटक भित्रिने गर्छन् र यसमध्ये आधाभन्दा बढी विदेशी पर्यटक तिलिचो पुग्ने गरेको होटल व्यवसायीहरुको भनाई छ ।

तिलिचो घुम्ने उपयुक्त समय
हिमालको काखमा अवस्थित यो तालमा सधैँ जान कठिन हुन्छ । अत्यधिक चिसोको समय र हिमपातका बेलामा त्यहाँ पुग्न निकै कठिन हुने हुँदा जुनसुकै समयमा जान सकिँदैन । यहाँका स्थानीय त सधैँ गए पनि पर्यटकलाई भने जोखिम छ । हिमपात र बेमौसमी फूलको सुगन्धले पर्यटकलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले यहाँ जानका लागि भदौ, असोज महिना उपयुक्त मानिन्छ । भदौबाट सुरु भई मङ्सिरसम्म पर्यटक आवात जावत गर्ने गर्छन् । यो समयमा आकाश खुलेर निलो देखिन थाल्छ अनि निलो आकाश मुनि सेता हिमालका लहरहरु मुस्कुराउन थाल्छन् । यही मनोरम दृश्यले तान्छ पर्यटकलाई ।

‘‘स्वदेशी पर्यटकहरु विशेषगरी दशैँ, तिहारको लामो बिदालाई सदुपयोग गर्दै तिलिचो पुग्छन्,’’ होटल व्यवसायी कर्मडोन्डु गुरुङले बए । पहिले खासै स्वदेशी पर्यटक नआए पनि पछिल्लो समयमा स्वदेशी पर्यटकको मुख्य गन्तव्यस्थल बन्ने गरेको छ तिलिचो ताल ।

कसरी पुगिन्छ तिलिचो ताल ?
लमजुङको सदरमुकाम बेसिशहर हुँदै विश्व चर्चित अन्नपूर्ण पदमार्गमार्फत् तालसम्म पुग्ने यात्रा शुरु हुन्छ । बेसिसहर चामे सडकमा चल्ने सवारी साधानको प्रयोग गरेर र पैदल यात्राबाट पनि जान सकिन्छ । अधिकांश विदेशी पर्यटक पैदल यात्राबाट नै तिलिचो पुग्ने गरेका छन् भने स्वदेशी पर्यटकले सवारीसाधानमार्फत् पुग्ने गरेको पाइन्छ ।

पैदल यात्रीहरु १० दिन लगाएर पुग्छन् तिलिचो ताल । लमजुङ सदरमुकामबाट शुरु गरी बाहुनडाँडामा बास बस्दै घ्यार्मु, स्याँगे हुँदै दोस्रो दिन च्याम्चे र मनाङको पहिलो गाउँ तालगाउँमा बास बस्न पुग्ने गर्छन् । तेस्रो दिन मनाङ जिल्लाको नासों गाउँपालिका तालबाट शुरु भइ धारापानी, दानाक्यु, बगरछाप हुँदै चामे गाउँपालिकाको तिमाङ, थानचोक, कोतो हुँदै मनाङको सदरमुकाम चामे बास बस्ने गर्छन् । यसरी पैदल यात्रीहरुले बाटोभरि देखिने मनोरम दृश्यहरु हेर्दै, तस्वीरहरु खिच्दै रमाएर यात्राको मजा लिँदै गन्तव्यसम्म पुग्ने गरेको पाइन्छ ।

अग्लो पहाडको बिचबाट झरेका नागबेली छहराहरु, मस्र्याङ्दी नदीको कलकल आवाज, सेता हिमालका लहरहरुमा लहाराउँदै घुम्ने याममा बाटोभरि यात्रुहरु हिडिरहेका हुन्छन् । मनाङ सदरमुकामबाट देखिने लमजुङ हिमाल मनास्लु र अन्नपूर्ण दोस्रो हिमालको दृश्य अवलोकनसँगै चौथो दिनको यात्रा तय गर्छन् । यसपछि यात्रा अरु दिनभन्दा अलि कठिन तर मनोमहक रहेको छ । अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्दै दुई हजार नौ सय मिटर देखि तीन हजार एक सय मिटरको उचाइमा पुगिन्छ ।

अर्को दिन ढुकुर पोखरी हुँदै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ बास बस्दै भोलिपल्ट ग्रिन ताल हँदै घ्यारु, ङावल, भ्राकामा बास बस्ने गर्छन् । यहाँबाट तीन हजार पाँच सय ४० मिटर उचाइमा रहेको मनाङ गाउँ र गंगापूर्ण ताल छोङ्कर घुम्न सकिन्छ । त्यस्तै भ्राका गाउँबाट चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, मिलेरेपा केभ जस्ता प्राकृतिक र धार्मिक स्थानहरुको अवलोकन गर्दै दुई दिन मनाङगाउँमा बास बसेर अरु यात्रा शुरु गर्ने गर्छन् विदेशी पर्यटकहरुले ।

यसरी यात्रा गर्दा भने लेक लाग्ने समस्या हुँदैन । उचाइसँग घुलमिल हुँदै अर्थात् विस्तारै उकालो लाग्ने हुँदा लेकलाग्ने सम्भावना कम हुने पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । मनाङ गाउँबाट खाङसार गाउँ, श्रीखर्क हुँदै चार हजार दुई सय मिटर उचाइमा रहेको तिलिचो बेस क्याम पुगिन्छ । यसैगरी यात्राको १०औं दिनमा सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ ।

स्वदेशी पर्यटकले भने बेसिशहरबाट नै सवारी साधानको प्रयोग गरी एकै दिनमा मनाङ खाङ्सार पुग्ने गर्छन् । खङ्सार गाउँको छेउमै रहेको तारे गुम्बा हुँदै सात घण्टाको हिडाइपछि तिलिचो बेस क्याममा पुगिन्छ । बेस क्याम्पबाट चार घण्टामा यस तालमा पुग्न सकिन्छ । यसरी दुई दिनमा तिलिचो पुग्दा धेरै स्वदेशी पर्यटक भने लेक लागेर बिरामी पर्ने र बिच बाटोमै फर्किने समेत गरेको होटल व्यवसायी भुजुङ गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्