ककनी बृहत्तर पर्यटन विकासका लागि कार्यदलद्वारा स्थलगत भ्रमण, जनप्रतिनिधिलगायतसँग सुझाव मागियो



छलफलका क्रममा जनप्रतिनिध लगायत

नुवाकोट (ककनी) २ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनद्वारा गठित कार्यदलले पर्यटकीय स्थल ककनी बृहतर पर्यटन विकासका लागि स्थलगत भ्रमण गर्दै सरोकारवालाहरुसँग छलफल गरेको छ । मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले पर्यटकीय क्षेत्र विकासका अवधारणासहित गुरुयोजना बनाउनका लागि भन्दै भ्रमण र छलफल गरेको हो ।

तारागाउँ होटेल अनि स्काउटमा भएको छलफलमा पूर्वमन्त्री संघीय सांसद हितबहादुर तामाङ, संघीय सांसद नारायणप्रसाद खतिवडा, वाग्मती प्रदेश सांसद बद्री मैनाली, ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, पर्यटन मन्त्रालयका सहसचिवहरू, वडाध्यक्ष लगायत स्थानीयहरुको उपस्थिति थियो ।

सांसद हितबहादुर तामाङका अनुसार, कार्यदलले तीनै तहका जनप्रतिनिधि, पर्यटन क्षेत्रका विज्ञ र स्थानीयस्तरका सरोकारवालाहरुसँग एकीकृत गुरुयोजना सम्बन्धित रहेर सल्लाह र सुझाव मागेको थियो । स्थलगत भ्रमणपछि सामाजिक सञ्जालमा सांसद तामाङले लेखेका छन्, ‘हामीलाई विश्वास छ कि कार्यदलले तोकेको समयभित्र तोकेअनुसारका विषयमा सकारात्मक सोचसहितको प्रतिवेदन पेस गर्नेछ र गुरुयोजना अनुरुपको कार्य गर्नको लागि मन्त्रालयले दृढतापूर्वक अघि बढ्नेछ ।’, आफ्नो गृहजिल्लाको लागि पर्यटनमा विकास दिइएको चासोप्रति पूर्वमन्त्री तामाङले मन्त्री भट्टराईलाई विशेष धन्यवाद र कार्यदललाई सफलताको शुभकामना लेखेका छन् । ‘माननीय मन्त्री योगेशकुमार भट्टराईलाई विशेष धन्यवाद र कार्यदललाई कार्य सफलताको लागि शुभकामना !’ सांसद तामाङको सामाजिक सञ्जालमा छ ।

अवलोकनका क्रममा जनप्रतिनिधि र कार्यदलका सदस्यहरु

टोलीले निर्माणाधीन ककनी भ्युटारको समेत अवलोकन गरेको थियो । उक्त कार्यदल पर्यटनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनमा बनेको हो । कार्यदल संयोजकमा सहसचिव भट्टराई र सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्‍जय रेग्मी र तारागाउँ विकास समिति अध्यक्ष प्रल्हाद न्योपाने छन् ।

कार्यदलले प्राप्त कार्यादेशानुसार काठमाडौंबाट नजिक रहेको, पर्यटकीय क्षेत्रको विकासका लागि सम्भावनायुक्त र सुन्दर तथा रमणीय स्थल नुवाकोट जिल्लाको ककनीस्थित तारा गाउँ विकास समिति, नेपाल पर्वतारोहण प्रतिष्ठान र नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघ संस्थाले उपयोग गरिरहेका जग्गाहरुमा पर्यटन प्रवर्द्धन गर्ने एकीकृत गुरुयोजनासँग सम्बन्धित प्रतिवेदन तयार गरी १५ दिनभित्र बुझाउनु पर्नेछ । प्रतिवेदनमा सुविधासम्पन्न होटल, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, पर्वतारोहण प्रशिक्षण केन्द्र, स्की खेलका पूर्वाधार, मनोरञ्जन पार्क, क्यासिनो जोन, माउन्टेन एकेडेमी, स्पोर्ट्स एकेडेमी लगायतका कार्यक्रमहरु समेट्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्