नमुना विकासको सूचीमा नुवाकोटका अमरज्योति र विन्दुकेशर मावि



नुवाकोट ३ साउन । सरकारले नेपालभरबाट छानेको नमुना विकासको सूचीमा नुवाकोटका अमरज्योति र विन्दुकेशर माध्यमिक विद्यालय परेका छन् ।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार सार्वजनिक सय विद्यालयको सूचीमा तादी गाउँपालिका ३ को अमरज्योति र म्यागङ गाउँपालिका ५ मा रहेको विन्दुकेशर मावि अटाएका हुन् । केन्द्रका अनुसार विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालय छनोट गरिएको हो । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको बताए ।

नमुना विकासका लागि छानिएको नुवाकोट तादी गाउँपालिका ३ स्थित अमरज्योति मावि

केन्द्रले विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको जनाएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाईको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पूरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन् ।

यसैबीच अमरज्योति प्राविधिक माविका प्राचार्य सुरेन्द्र अधिकारीले आफ्नो विद्यालय नमुना विकास लागि छनोटमा परेको भन्दै विद्यालयको तर्फबाट शिक्षामन्त्री, जिल्लाका सांसद र शुभचिन्तकहरुलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्