कास्कीमा घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्‍चालनको तयारी



पोखरा साउन ६ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङजस्ता पर्यटकीय गतिविधिका सम्भाव्यतालाई उजागर गरिने छ ।

गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने बताउँदै अध्यक्ष कुँवरले परम्परागत कला संस्कृतिको संरक्षण संवर्द्धन गरिने बताए ।

अध्यक्ष कुँवरका अनुसार अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थानको विवरण सङ्कलन गरी प्रचारप्रसार गर्न ब्रोसर प्रकाशन गर्ने तयारी गरिएको छ । भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्टे«लियन क्याम्प, पाउँदुरकोट, दाङसिङमा रहेका घरवास पर्यटनको प्रचारप्रसार, प्रवर्द्धन व्यवस्थित गर्नुका साथै ती क्षेत्रलाई पर्यटन सूचना केन्द्रका रूपमा विकास गर्न पहल गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्