एसईई परीक्षाको परीक्षाफल प्रकाशनमा ढिलाइ हुने



काठमाडौ,साउन ७ । एसईई परीक्षाको परीक्षाफल प्रकाशितमा ढिलाइ हुने भएको छ । झण्डै ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेकाले परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको हो । पछिल्लो दिन यता निरन्तर भैरहेको वर्षा तथा बाढी पहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क परीक्षा नियन्त्रण कार्यालयमा पुग्न सकेको छैन ।

सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिए । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ । तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको कागजात आएको छैन ।

‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्ताङ्क नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेलले भने । पनिकाले सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने जनाएको छ ।

विद्यालयले तीन पटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्