गोसाइँकुण्डको धार्मिकमार्गमा फलामे बार राख्‍न थालियो



धुन्चे,साउन ९ । गोसाइँकुण्ड जाने धार्मिकमार्गमा पर्ने असहज स्थानमा फलामे पाइपको बार लगाइएको छ । नेपाली सेनाको तर्फबाट लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ कालीजङ्ग गणले धार्मिकमार्गमा पर्ने बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म फलामे पाइप राख्न थालेको हो ।

प्रत्येक वर्ष गङ्गा–दशहरा एवं जनैपूर्णिमामा गोसाइँकुण्ड जाँदा असहज हुने यात्रुलाई बारको सहायताले हिँड्न सहज हुने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । ककरो भिरमा समात्ने ठाउँसमेत नहुँदा धार्मिक यात्रुलाई जोखिम हुने भएकाले उनीहरुको सुरक्षाका लागि नेपाली सेनाले दुई दशमलव ५८ किलोमिटर क्षेत्रमा फलामे बार लगाउने काम अगाडि बढाएको रसुवामा कार्यरत कालीजङ्ग गणले जनाएको छ ।

फलामे पाइपद्वारा बार निर्माणका साथसाथै धार्मिकमार्गको मर्मत तथा सुधारका कामसमेत एकसाथ अगाडि बढाइ समग्रमा ८० प्रतिशत काम पूरा भएको सो गणले जनाएको छ । झरी, बादल र चिसोपनलाई कुनै प्रवाह नगरी नेपाली सेनाले जोश, जाँगरका साथ बाटो मर्मत सुधार र जेनेटरको सहायताले फलामको पाइप ज्वाइन गर्दै अगाडि बढिरहेको चन्दनबारीका सुब्बा लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्