कोरोनाको प्रभाव : दरबार हाई स्कुल हस्तान्तरणमा ढिलाई



काठमाडौं साउन १० । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ ।

२०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माणको काम सके पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म स्कुल हस्तान्तरण हुन नसकेको हो । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले लिएको थियो । ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको विद्यालय भवन चारतले र ४० कक्षाकोठा रहेको छ । यस भवनको नमूना ‘चाइना एभिएशन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीका अनुसार निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सके पनि कोरोनाकै कारण हस्तान्तरण हुन नसकेको हो ।

निर्माण सम्पन्न भए पनि के कसरी निर्माण सम्पन्न भएको छ भनेर चिनियाँ टोलीको अवलोकनपछि मात्र हस्तान्तरण गर्नुपर्ने र अहिलेको अवस्थामा विदेशबाट आवतजावत गर्न समस्या भएकाले विद्यालय निर्माण सम्पन्न भएको छ । महिनासम्म पनि हस्तान्तरण हुन नसकेको व्यवस्थापक केसीको भनाइ छ ।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको उक्त स्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउनमा भएको हो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढ्न पाउने भएका थियो ।

प्रतिक्रिया दिनुहोस्