भक्तपुरको प्राचीन रानीकोट गढीँमा सिँडी तथा प्रवेशद्वार निर्माण



भक्तपुर साउन १६ । सूर्यविनायक नगरपालिका ७ र ८ को सिमानामा पर्ने प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ ।

वाग्मती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन प्रवर्द्धन आयोजनाअन्तर्गत एक करोड रुपैयाँको लागतमा निर्माण भएको सिँढी तथा प्रवेशद्वारको सङ्घीय सांसद एवंपूर्वमन्त्री महेश बस्नेत शुक्रबार उद्घाटन गरेका हुन् । पर्यटन क्षेत्रबाट सरकारलाई आर्थिक वृद्धिदर हासिल गर्नुका साथै हजारौँ युवालाई रोजगारीको अवसर प्रदान गर्ने बताउँदै उनले भक्तपुरको पर्यटनको विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

डेढ दर्जनभन्दा वढी हिमालको अवलोकन गर्न सकिने तथा उपत्यकाका मनोरम दृश्यावलोकन गर्न सकिने रमणीयस्थलको रुपमा रहेको रानीकोटको विकास तीव्ररुपमा भइरहेको बताए ।

रानीकोट, घ्याम्पे डाँडालगायत सूर्यविनायक क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा सूर्यविनायक, जगाती, गुण्डु, बालकोटलगायत क्षेत्रबाट जान मिल्ने गरी चौतर्फीरुपमा सडक निर्माण भएको, करोडौँको लागत होटलको निर्माण भइरहेको, इको भिलेज, बञ्जी जंम्प, प्याराग्लाइडिङदेखि जीप लाइनसम्मको निर्माण कार्य शुभारम्भ भइसकेकाले अबको केही वर्षमै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सांसद बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्