पाँचथरको हिलिहाङमा रहेको मृदुङ्गा झरनाका किन ओइरिए पर्यटक ?



पाँचथर साउन १८ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडकका कारण पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको भिडभाड बढेको छ ।

ठूलाठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले यहाँ पर्यटकको भीड लाग्न थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ ।

मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करिब एक घण्टा यात्रा गरेपछि यो झरनासम्म पुग्न सकिन्छ । सबै प्रकारका सवारीका साधन यहाँसम्म पुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढिरहेको स्थानीय व्यवसायी सुरेश चापागाईले बताए । चापागाईका अनुसार सडक पुगेपछि झरनामा तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरना प्रचारमा आएको हो ।

सडकले विकास र समृद्धिका अन्य आयामसमेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ यो झरना । यहाँ अहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायी चापागाईको भनाइ छ । झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडक विस्तार भएको छ ।

हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालू आव २०७७/७८ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागिएको छ । प्रतिवेदनका आधारमा यस झरनालाई प्राकृतिकरुपमै सुन्दर बनाउने प्रयास गरिने उनको भनाइ छ । सडक छेउ सवारी पार्किङ स्थल, सिँढी मार्ग, स्वीमिङ पुललगायत संरचना आवश्यक भएकाले ती संरचना निर्माणका कार्यसमेत थालिने वडाध्यक्ष सिगुले बताए ।

प्रतिक्रिया दिनुहोस्