राहत दिलाउन नृत्य निर्देशक संघद्वारा एन प्याब्सनको ध्यानाकर्षण



काठमाडौं साउन २२ । नृत्य निर्देशक संघ नेपालले कोरोना भाइरस (कोभिड १९) ले सिर्जना गरेको विषम परिस्थितिमा नृत्य निर्देशकहरुका लागि राहत दिलाउन नेपालकै एक ठूलो विद्यालय संगठन एन प्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

कोरोना भाइरसका कारण प्रशिक्षक तथा निर्देशकहरुले विद्यालयबाट मासिक तलब नपाउँदा घर व्यवहार सञ्‍चालनमा समस्या परेको जनाउँदै संघले मंगलबार एन प्याब्सनका नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘सरकारी तथा निजी संघसंस्थाहरु पनि हालसम्म बन्दको अवस्थामा नै छ । त्यसै कारण सवैको दैनिक गुजारा गर्न हम्मेहम्मे परेको अवस्था यहाँहरुलाई अवगत नै छ । त्यसमा पनि निजि संघसंस्थामा काम गर्ने कर्मचारीहरुलाइ मासिक तलब उपलब्ध नहुँदा व्यवहार चलाउन गाह्रो भैरहेको छ । हो, त्यही विषयको लागि लगभग ९० प्रतिशत नृत्य प्रशिक्षकरनिर्देशकको आर्थिक पाटो जुटाउने माध्यम नै बिद्यालय भएको हुनाले यस विषम परिस्थितिमा नृत्य निर्देशकहरुको लागि केही राहतको आशा सहित तथा भोलिको दिनमा कसरी अगाडी बढन सकिन्छ भनेर नेपालकै एक ठूलो बिद्यालय संगठन एन(प्याब्सनका केन्द्रिय पदाधिकारी ज्युहरु अध्यक्ष ऋतुराज सापकोटा, उपाध्यक्ष प्रमोध रिजाल, उप महासचिव पारसमणि दाहाल र कोषाध्यक्ष प्रताप थापासमक्ष भेटघाटसहित ध्यानाकर्षण गरेको हो,’ ध्यानकर्षणमा लेखिएको छ ।

नृत्य निर्देशकहरुको समस्यालाई साथमा लिएर संघ नेपाल केन्द्रका अध्यक्ष भुवनदास श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रदिपमान श्रेष्ठ, महासचिव नृपध्वज खत्री, सहकोषाध्यक्ष केशव कोइराला एन प्याब्सन पदाधिकारीलाई भेट्न पुगेका थिए । त्यस्तै संघ नेपाल काठमाडौं समितिका अध्यक्ष बुद्ध लामा, उपाध्यक्ष अर्जुन लामा, सचिव देवराज गुरुङ, सहकोषाध्यक्ष छिरिङ लामा तथा भक्तपुर कार्यसमितिको सचिव चुडामणि फुँयाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्