कोरोना सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम रोकिँदैन : शिक्षा मन्त्रालय



काठमाडौं साउन २२ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न पनि उनले आग्रह गरेका छन्। भर्ना गर्न जाँदा बाटोदेखि शैक्षिक संस्थासम्म व्यक्तिगत दूरी कायम गर्ने, सकेसम्म सार्वजनिक गाडीमा यात्रा नगर्ने र गर्नै परे पनि पटक पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र यसका लागि विद्यालयले पनि दूरी कायम गर्ने व्यवस्था मिलाउन प्रवक्ता शर्माले आग्रह गरेका छन् ।

उनले पठनपाठन कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारेमा चाँडै नै विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने र त्यसपछि मात्रै थाहा हुने बताएका छन् । कार्यढाँचामा सुरक्षा सावधानी लगायत मापदण्डका कुराहरु पनि समावेश हुने उनको भनाइ छ ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण यो वर्षको नयाँ शैक्षिक सत्र अनलाइन विधिबाट चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्