झापाको निन्दा झरनामा ओइरिए आन्तरिक पर्यटक



झापा साउन २४ । काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका झरनामा आन्तरिक पर्यटक ओइरिएका छन् । निन्दा नदीको मुहानमा अवस्थित झरनामा झापाका युवायुवती दिनहुँ सयौँको सङ्ख्यामा नुहाउन र रमाउन जान थालेका छन् ।

झापामा गर्मी बढेको हुँदा झरनाको चिसो फोहोरामा नुहाउनेको भीड लाग्ने गरेको पर्यटन अभियन्ता एवं ग्रिन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले बताए । झरना नजिकै निन्दा नदीमा जिर्मले र सलकपुरलाई जोड्ने झोलुङ्गे पुल पनि छ । त्यहाँ पुग्ने आन्तरिक पर्यटक गर्मी छल्न झरनामा रुझ्ने र झोलुङ्गे पुलमा फोटो खिचाउने गर्छन् ।

उनले दुई जिल्लाको दोसाँधमा रहेका झरना सुदूरपूर्वकै नमूना पर्यटकीयस्थल बन्न सक्ने जनाउँदै झापाको मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकालाई व्यवस्थित गर्न आग्रह गरे । सो स्थान पुग्नका लागि काँकडभिट्टाबाट बाहुनडाँगीको गाडागल्ली, कृष्ण थुम्की हुँदै जान सकिने मेचीनगर लेडिज जेसिजकी पूर्वअध्यक्ष उषा श्रेष्ठले बताए ।

झरनामा नुहाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट हुन थालेपछि झरनाको प्रचार फैलिएको मेचीनगर–१ बाहुनडाँगीका वडाध्यक्ष पासाङ तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्