नुवाकोटमा तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित दर्जनौं नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश



तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित विभिन्‍न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्दै

नुवाकोट, साउन २४ । तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित विभिन्‍न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शिवपुरी गाउँपालिकामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति केन्द्रीय सदस्य शन्तबहादुर तामाङ, नेकपाका कमल सुनारसहितका एक सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए । नव प्रवेशी लाई सभापति केसीले पार्टीमा स्वागत गरेका थिए ।

उनका अनुसार नेकपा ९माओवादी०का सन्तकुमार तमाङ, नेकपाका रामशरण सुनार, चित्रबहादुर तमाङ, राजकुमार तामाङ, लालबहादुर गोले, शम्भु गुरुङ लगायत एक सयभन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

कार्यक्रममा सभापति केसीले कम्युनिस्टहरूको झण्डै दुईतिहाइको बहुमत हुँदा पनि जनताका काम गर्न नसकेको आरोप लगाए । ‘कम्युनिस्टको सरकार छ । कम्युनिस्ट सरकार हुँदा पनि जनताको काम गर्न सकेन’, उनले भने, ‘यो कम्युनिस्ट सरकारले जनताको काम गरेन । बरु कोरोना भाइरसको संक्रमणको नाममा लुट्ने, भ्रष्टाचार गर्ने, कमाउनेतिर लागेका छन् ।’

पूर्व सांसद समेत रहेका केसीले नुवाकोटमा कांग्रेसका पालामा रामशरण महत, अर्जुननरसिंह केसीहरुले सडक पुर्‍याए पनि अहिलेका नेकपा लगायतका नेताहरु आफूहरुले बनाएको भन्दै भ्रम छरिरहेको आरोप लगाए । उनले नुवाकोट र समग्र देशको विकास कांग्रेसबाट मात्रै सम्भव रहेको दाबी गरे ।

कांग्रेस नुवाकोटका नेता लक्ष्मण थापा, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, महासमिति सदस्य रमेशकुमार महत, वडाध्यक्ष लालबहादुर तामाङलगायतका नेता कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताहरू योग्यता र क्षमतामा आधारमा जिम्मेवारी दिइने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्