माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह – बृहत् गुरुयोजना बनाएर अयोध्याधामको काम सुरु गर्नुहोस्



तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं साउन २४ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम सुरु गरिहाल्न आग्रह गरेका माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताउनुभएको उपप्रमुख महतोले उल्लेख गरे ।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए । स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाएका उपप्रमुख महतोले जानकारी दिए ।

केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्