काङ्ग्रेस महाधिवेशन सार्दै,जेठ वा भदौमा गर्ने तयारी



काठमाडौं,साउन २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउदो भदौ ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो ।

कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन ।

‘पछिल्लो पटक तल्ला तहका अधिवेशनका मिति हेरफेर गर्दा नै महाधिवेशनको मिति पनि हेरफेर गर्ने विषयमा केन्द्रीय समितिमा कुरा उठेको हो । त्यस बखत तल्ला तहका मात्रै हेरफेर भयो तर अहिले जेठ वा भदौमा गर्ने गरी शीर्ष तहमा छलफल हुँदै छ,’ कांग्रेसका एक पदाधिकारीले राजधानीसँग भने ।

शीर्ष तहमा भएको छलफलअनुसार पूर्वनिर्धारित मिति सारिए कांग्रेसको १४औं महाधिवेशन २०७८ सालको जेठ वा भदौमा हुनेछ । कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस पदाधिकारीसहित पूर्वपदाधिकारीको गत बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलअनुसार क्रियाशील सदस्यतालाई समेत दोब्बर बनाउने निर्णय भइसकेको छ ।

जसअनुसार कांग्रेसको सदस्यता वितरण, नवीकरण र छानबिनको प्रक्रिया अझै लम्बिने निश्चित छ । जारी कार्यतालिकाअनुसार सदस्यता वितरण साउन मसान्तसम्म मात्र तोकिएको छ । यस्तै, कांग्रेसले सदस्यता छानबिन गर्न अझै समिति बनाइसकेको छैन ।

यस्तै, संविधानले व्यवस्था गरेअनुसारको नयाँ संरचनामा पार्टी संगठनलाई लैजान जारी रहेको समायोजनको कामसमेत कांग्रेसले सकेको छैन । पछिल्लो पटक संगठन समायोजनको काम १५ साउनसम्मा सक्ने भनिएको थियो । त्यसअघि १५ असारभित्र नै अन्तरिम संरचना समायोजनको सबै काम सक्ने भनिएको थियो ।

कांग्रेसले १६ असारको केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मितिसमेत परिमार्जन गरेको थियो । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्र सकेर भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो । यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ ।

यस्तै, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने भनिएको थियो । यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेसले तेस्रो पटक मिति संशोधन गर्दै गरिसकेको छ । ।

कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रियासमेत कोरोना संक्रमणकै कारण प्रभावित भएको थियो । कांग्रेसले गत ९ चैतबाटै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो भने आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्ध सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो ।

यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर र प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो ।

कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए । अझै पनि संविधानमा भएको विशेष अवस्थाको व्याख्याअनुसार देउवाले अन्तिम पटक ६ महिना कार्यकाल थप गर्न सक्नेछन् ।

यो समाचार महेश्वर गाैतमले राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्