बागलुङको ‘बुद्ध हिल’ नयाँ गन्तव्य



गलकोट साउन २५ । पछिल्लो समय बागलुङ जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । यसै कदमअनुसार बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । धार्मिक गन्तव्यका रुपमा चर्चा कमाउन सफल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट नजीकै एक आकर्षक पहाडको पर्यटकीय हिसाबले प्रचार थालिएको छ । त्यसलाई स्थानीय र पर्यटन अभियानकर्मीले ‘बुद्धको पहाड’ नामकरण गरेका छन् ।

प्राकृतिकरुपमा बागलुङ–६ र ७ को सिमानामा रहेको बैजनीको पाखामा शाक्यमुनिक गौतम बुद्धको स्पष्ट आकृति पहिचान भएपछि हालै मात्र ‘बुद्ध हिल’को पहिचानसमेत दिइएको छ । बैजनीको पाखामा ढुङ्गाको पूर्व फर्किएको पहाडलाई दायाँबाट देख्न सकिने सिद्धार्थ बुद्धको आकृति धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण भएको जनाउँदै शनिबारदेखि प्रचारप्रसारसमेत थालिएको छ ।

बन्दाबन्दीका समयमा लामो पदयात्रा जानेक्रममा बैजनीको पाखामा तस्वीर खिंच्दै गर्दा उक्त ढुङ्गाको पहाडमा बुद्धको आकृति देखिएको घुमन्ते समूहमा आबद्ध बागलुङका युवा पर्यटन अभियानकर्मी खिमबहादुर क्षत्रीले बताए ।

समुद्री सतहदेखि एक हजार ७७५ मिटरको उचाइमा रहेको उक्त पहाडको प्रर्बद्धन गरी पर्यटकको आर्कषण केन्द्रका रुपमा परिचित गराउन घुमन्ते समूहले स्वतः स्फूर्तरुपमा पहिचान तथा साङ्केतिक नामपाटी स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्