यस्तो छ रसुवाको दूधकुण्डको महिमा



रसुवा साउन २९ । नेपालको हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ स्थित खैदी भन्ने गाउँको ठीकमाथि करिब ४ हजार ८२० मिटर उचाईमा नेपाल चीनको सिमाना नजिक रहेको कुण्ड हो ‘पेदाङ छो’ अर्थात् दूधकुण्ड ।

गोसाइँकुण्ड गाउँपालिका टिमुरेका स्थानीय झाँक्री कामी तामाङ र बुझुङ तामाङका अनुसार उक्त कुण्ड आजभन्दा करिब सय वर्ष पहिले लामा, झाँक्री गुरुहरुले पत्ता लगाएका हुन् । तामाङ भाषामा पेदाङ छो भनेको फूलको बोट र तोर्मा अर्थात् सोल्मोजस्तै आकृति देखिने कुण्डमा हेर्दा दूध जस्तो देख्ने हुनाले दूधकुण्ड भनेर भनिएको किम्बदन्ती पाइन्छ ।

यस कुण्डमा पुगेर भाकल गरे मनले चिताएको सबै पुग्ने जनविश्वास छ । त्यस किसिमका जनविश्वासको कारणले आजभन्दा १२ वर्ष पहिलेसम्म यस कुण्डमा जनैपूर्णिमाका दिन ठूलो मेला अर्थात् जात्रा लाग्ने गर्दथ्यो । पितृहरुको सम्झनामा बत्ती बालेर सम्झना र प्रार्थना गरिन्थ्यो । झाँक्री, लामा, तिर्थयात्रीहरुको ठूलो भीड लाग्दथ्यो । युवा युवतीहरुले तामाङ माने नाचदेखि तामाङ स्थानीय गीत गाएर रमाइलो पनि गरिन्थ्यो ।

पछि पछिबाट सहर केन्द्रित आन्तरिक बसाइँसराई र त्यस क्षेत्रका ऐतिहासिक महत्त्वलाई कम बुझेर अनि कम प्रचारप्रसारको कारणले उक्त पबित्र भूमिको महत्त्व घट्दै गयो र मेला वा जात्रा पनि नहुने स्थितिमा पुग्यो । भन्नू नै पर्दा सम्पूर्ण रूपमा ‘पेदाङ छो’ अर्थात् “दूधकुण्ड” ओझेलमा पर्‍यो । अब भने स्थानीय बासिन्दा र युवाहरु जागुरुक भएको छ । ओझेल परेको १२ वर्षपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि यही आउँदो भाद्र १५देखि १८ गतेसम्म टिमुरेका सेरथाङ युवा समाज परिवारको आयोजनामा जात्रा वा मेलाको आयोजना गरिएको छ । टिमुरेबाट २ दिनको पैदलयात्रा गरेपछि पुगिने उक्त स्थानमा आयोजकले सम्पूर्ण तिर्थयात्री तथा लामा झाँक्री गुरुहरुलाई निमन्त्रणा गरिएको छ ।

आयोजकले खाना र बस्नको समेत व्यवस्था गर्ने भनिएको छ । १२ वर्ष पहिलेको जस्तै युवा युवतीहरुले तामाङ माने नाचदेखि तामाङ स्थानीय गीत गाएर रमाइलो गर्ने भएको छ । तर यसपटक कोरोना भाइरसको जोखिम बढ्दै गएकोले मेला लाग्ने/नलाग्ने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्