पाहुना लाग्न जान र बोलाउन बन्द गरौं : स्वास्थ्य मन्त्रालय



काठमाडौं, साउन ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू पनि अरुकोमा पाहुना लाग्न नजान र अरुलाई पनि पाहुना लाग्न नबोलाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेको बेलामा पनि गाउँघर र शहरबजारमा व्यक्तिगत दुरी कायम नगरी होटलरपसलमा बस्ने तथा पाहुना आवत जावत गर्ने क्रम रहेको भन्दै यस्तो कामबाट सङ्क्रमणको जोखिम झनै बढ्ने बताउनुभयो ।

उहाँले यस्तो काम रोक्नका लागि समुदायमा रहेका व्यक्ति तथा टोल विकास संस्थाहरुले ख्याल गरी पालिकाहरुमा जानकारी गराउन पनि आग्रह गरेका छन् ।

प्रवक्ता गौतमले कोरोना सङ्क्रमणको कुनै उपचार नभएको र अहिलेसम्म खोप पनि तयार भइ नसकेकोले एक अर्काबाट टाढा रहेर सङ्क्रमण फैलन रोक्नु नै मुख्य उपाय भएको बताए ।

उनले मन्त्रालयले बारम्बार आग्रह गरिरहेको हात धुने, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने जस्ता सुरक्षाका उपायलाई बेवास्ता नगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्