अद्यावधिक नक्सा अंकित लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण



काठमाडौँ साउन ३२ ।

नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका माननीय उपाध्यक्ष शशिकला दहाललाई लोगो आइतवार हस्तान्तरण गरेका हुन् ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले आजैदेखि नयाँ लोगो लगाएसका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका माननीय सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३।५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिए । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्सा अंकित लोगो आइतवारदेखी उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्