नेपाल–भारत संयन्त्रको बैठक सम्पन्न, भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल



काठमाडौं भदौ १ । नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला सोमबार नेपाल–भारतबीचको संयुक्त निरीक्षण संयन्त्रण ओभरसाइट मेकानिजमको बैठक सम्पन्न भएको छ ।

कोरोना कारण भिडियो कन्फरेन्समार्फत भएको उक्त बैठकमा भारतकातर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्रा र नेपालका तर्फका परराष्ट्र सचिव शंकरदास बैरागीले अध्यक्षता गरेका थिए ।

बैठकले ८ जुलाई २०१९ मा भएको सातौं बैठकयता भएका द्विपक्षीय आर्थिक र विकास सहयोग परियोजनाहरूको विस्तृत समीक्षा गरेको जनाइएको छ । सोमबारको आठौं बैठकमा दुबै पक्षले परियोजनामा भइरहेका प्रगतीको छलफल गरेको र द्रुत गतिको कार्यान्वयनमा जोड दिने सहमति भएको जनाइएको छ ।

भारतीय सहयोगमा नेपालमा भइरहेका आर्थिक र विकास परियोजनाको निरीक्षणका लागि सन् २०१६ मा स्थापना भएको यस संयन्त्रले हरेक वर्ष परियोजनाको मूल्यांकन गर्ने गरेको छ ।
नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिबद्धता गरेअनुसार ५० हजारमध्ये गोरखा र नुवाकोटमा ४६ हजार ३०१ घर निर्माण गरेको जनाइएको छ । त्यसैगरी महोत्तरी अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन, विराटनगरको एकिकृत चेकपोस्ट, उच्च प्रभावको समुदाय विकास परियोजनाको विषयमा पनि छलफल भएको जनाइएको छ ।

नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइँमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । दुबै पक्षले आगामी बैठक दुबै पक्षको सल्लाह बमोजिम उपयुक्त मितिमा बस्‍ने सहमति भएको छ ।

दूतावास स्रोतका अनुसार यस बैठकमा सीमा विवादबारे कुनै छलफल भएको छैन । सीमाका विषयमा छलफल गर्न अलग्गै संयन्त्र भएका कारण यस बैठकमा छलफल नगरिएको स्रोतले जनाएको छ । यसअघि दुवै देशका प्रधानमन्त्रीचबीच भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा टेलिफोन संवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्