पर्यटकीय ‘छाँगे झरना’ओझेलमा



पेमा लामा
काभ्रेपलाञ्‍चोक भदौ ५ । पर्यटकीय क्षेत्र धुलिखेलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं १ र २ को सङ्गमस्थलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । छपन्न फिट अग्लो झरना हेर्न तथा झरनाको पानीमा खेल्न र नुहाउन जानेहरुको सङ्ख्या पछिल्लो समयमा वृद्धि भए पनि प्रचारप्रसार कम भएका कारण पर्यटकको रोजाइमा पर्न नसकेको स्थानीय बासिन्दा बताउँछन् ।

बनेपा र धुलिखेल बजारबाट नजिकै पर्ने देवीटार र रविओपीको सङ्गमस्थल छाँगेटोल नजिकै रहेको ‘छाँगे झरना’ प्रचारमा आउन थालेसँगै पछिल्लो समय घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुन थालेको हो । धुलिखेल–१ छाँगेटोलका अम्बिका बजगार्इंले छाँगा पहिलादेखि नै भए पनि बन्दाबन्दीपछि चर्चामा आउन थालेको बताए । सो ठाउँमा छाँगा भएकाले टोलको नाम नै देवीटारको छाँगेटोल भन्दै आएका छन् । विस्तारै प्रचार हुन थालेपछि गाडीसहित लिएर मान्छेहरु आउन थालेको उनको भनाइ छ ।

सोही टोलका अर्का युवा जयराम बजगार्इंले छाँगे झरनालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न वडा र नगरपालिकालाई आग्रह गरिरहेको बताए । झरनाको प्रचारप्रसारमा कमी भएका कारण ओझेलमा परेको हुनाले युवाहरुको अगुवाइमा बनेपाबाट छाँगे झरना आउनेहरुका लागि सजिलो होस् भनेर ठाउँ/ठाउँमा साइन बोर्ड राखेर सहज बनाइएको उनले बताए ।

वडा नं १ का वडाध्यक्ष रमेशप्रसाद घोरसाइनेले छाँगे झरनालाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि वडा र नगरपालिकाबाट प्रयत्नहरु भइरहेको बताए । झरना हेर्न जानेहरुको सङ्ख्या बढ्दै गए पनि अझै प्रचार प्रसारको कमीका कारण ठाउँठाउँमा झरना जाने बाटोमा साइन बोर्ड राख्ने र त्यसको बारेमा जानकारी दिने काम भइरहेको वडाध्यक्ष घोरसाइने बताउँछन् । त्यसका लागि नगरपालिकाले नै गुरुयोजना बनाइसकेको उनले बताए ।
पर्यटकीय गन्तव्य बनाउन वडासँगै स्थानीय बासिन्दाको पनि साथ र सहयोग आवश्यक भएकाले त्यसतर्फ समेत छलफल र पहल भइरहेको उहाँले बताउनुभयो । शहरको भिडभाड र कोलाहलबाट मुक्त हुन शहर नजिकै शान्त ठाउँमा रहेको झरनामा रम्न सकिने भएकाले सो ठाउँको विकास गर्न सकेमा छाँगे झरना पर्यटकीय गन्तव्यस्थल बन्ने प्रबल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्