पर्सामा १४२ सहित चार जिल्लामा थपिए १८५ कोरोना संक्रमित



काठमाडौं भदौ ७ । पर्सामा १४२ सहित चार जिल्लामा १८५ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ जना बारा, ५ जना रौतहट हुन् । ४३ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ पाइएका हुन् । वीरगन्जको एक एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् । नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

यस्तै पश्चिम नवलपरासीमा जिल्ला पृथ्वीचन्द्र अस्पतालका चार जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षण गरिएको हो ।

जिल्ला पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाका अनुसार ३ जना चिकित्सक र एक जना नर्समा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर आवश्यक निर्णय लिने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट होदाले बताए ।

प्रतिक्रिया दिनुहोस्