कोरोना संक्रमणबाट भक्तपुर र मोरङमा २ जनाको मृत्यु



काठमाडौं भदौ ८ । कोरोना संक्रमणबाट भक्तपुर र मोरङमा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । मिर्गौला पीडित ती पुरुषलाई डायलाइसिस गर्न आइतबार बिहान अस्पताल ल्याएको र उपचारकै क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

यस्तै मोरङको विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् । उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ बजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको कार्कीले बताइन् ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्