रुपन्देही र पर्सामा मृत्यु भएका २ जनामा कोरोना पुष्टि



काठमाडौं भदौ ९ । रुपन्देही र पर्सामा मृत्यु भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । एक साताअघि घरको छतबाट लडेर गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालमा रहेकै बेला गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि सोमबार बिहान भीम अस्पताल लगिएको थियो ।

भीम अस्पताल कोभिड–१९ का फोकल पर्सन डा. सुमित प्रजापतिले बचाउने धेरै प्रयास गरे पनि सफल नभएको बताए ।

यसैगरी नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ती वृद्धको उपचारको क्रममा आइतबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्