अघि बढ्दै हलेसीको चौतर्फी विकास



खोटाङ भदौ ९ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीको चौतर्फी विकासमा ‘हलेसी विकास समिति’ जुटेको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास गर्न नेपाल सरकारद्वारा गठित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी आमन्त्रित सदस्य एवं पूर्वसांसद टङ्क राई नेतृत्वको समिति सक्रियताका साथ जुटेको हो । धार्मिक आस्थाका रूपले मात्र नभई प्राकृतिकरूपले समेत विश्व प्रसिद्ध हलेसीको चौतर्फी विकास गर्न नवगठित विकास समितिले १५ बुँदे कार्ययोजना अघि सारेको छ ।

विकास समितिको विभिन्न चरणमा बसेको बैठकले हलेसी गुफाको भौगर्भिक अनुसन्धान गरी गुफाको दीर्घकालीन संरक्षण योजना बनाउने, त्रिधार्मिस्थलको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बारेमा विज्ञमार्फत अनुसन्धान गरेर सोधग्रन्थ प्रकाशित गर्ने, हलेसीमा हिन्दू र बौद्ध धर्मावलम्बीको धार्मिक प्रतीकको रूपमा मन्दिर र गुम्बा रहे पनि किराँत धर्मावलम्बीको प्रतीक नरहेकाले आवश्यक अध्ययन गरी किराँत धर्मावलम्बीले पुज्दै आएको ‘तीन चुल्हा’लाई प्रतीकको रूपमा स्थापना गर्ने निर्णय गरेको छ ।

समितिले बसाहा गुफाभित्रको पदमार्ग, मुख्य मन्दिरको बाहिरी ढोकालगायत वरिपरिको घेराबारालाई पुरातात्विक हिसाबले व्यवस्थापन गर्ने, भैरवथानमा आउने भलपानीलाई उचित व्यवस्थापन गर्दै पूजाआजाको प्रबन्ध मिलाउने, खानेपानी, सरसफाइ, शौचालयलगायतलाई उचित व्यवस्थापन गर्ने, विकास समितिको क्षेत्राधिकारअनुसार हलेसी मन्दिरका साथै छिमेकी वडामा रहेका धार्मिकस्थलहरुको प्रवद्र्धन, विकास र व्यवस्थापन गर्दै आपसी सम्बन्ध स्थापित गर्ने, हलेसी मन्दिरका सरोकारवाला तथा लक्षित समुदायसँग विभिन्न छलफल, अन्तक्र्रिया, तालिम, गोष्ठी, सेमिनारजस्ता क्रियाकलाप गरी रोजगारी सिर्जना गर्ने निर्णय गरेको छ ।

यस्तै हलेसी मन्दिर आसपासमा धार्मिकसभाहरु सञ्चालन गर्न सभाहल नभएकाले आगामी दिनमा सभाहल, सूचना केन्द्र र पार्किङस्थल निर्माण गर्ने, हलेसी मन्दिर संरक्षण गर्न तत्काल भैरवथानसहित केही आवश्यक स्थान अधिग्रहण गर्न सङ्घीय सरकारसँग आवश्यक मुआब्जा माग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्