गर्भवतीसहित थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु



काठमाडौ भदौ ११ । कोरोना भाइरस संक्रमणबाट गर्भवतीसहित थप ४ जनाको मृत्यु भएको छ । बुधबार रातिदेखि बिहीबार बिहानसम्म पर्सा, रुपन्देहीमा गरी ४ जनाको मृत्यु भएको हो ।

वीरन्जनमा एक जना मिर्गौला बिरामी, गर्भवतीसहित पर्साका ३ जनाको मृत्यु भएको हो भने रुपन्देहीमा १ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएको छन् । वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । चिकित्सकका अनुसार कोरोना मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी बुधबार साँझ साढे ६ बजे नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाए । त्यस्तै बिहीबार बिहान बाराकी कोरोना संक्रमित एक जना गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । डा. चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १०:४५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । यसअघि मृतकलाई मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्