रसुवामा बन्यो गुरूङ संग्रहालय



रसुवा भदौ १२ । जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ ठूलोभोर्ले नजीक रहेको गुरूङ गाउँमा दुई कोठा भएका सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ ।

वाग्मती प्रदेश सरकारको सहयोगमा सङ्ग्रहालय निर्माण भएपछि भोर्लेका गुरूङ समुदाय हर्षित भएको छ । वाग्मती प्रदेश सरकारको २० लाख सहयोगबाट संग्रहालय बनेपछि गुरूङ समुदायमा उमङ्ग छाएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिए । सङ्ग्रहालय भवनबाट गुरूङ समुदायका भावी पुस्तालाई पुर्खाको रीतिरिवाज देखाउन र कलासंस्कृति संरक्षण गर्न सहज हुनाका साथै पर्यटकसमेत आगमन हुनेमा आफूहरू आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

गुरूङ समुदायको हितका लागि सङ्ग्रहालय निर्माणमा रकम उपलब्ध गराई सङ्घीयताको मर्म र भावनानुरूप वाग्मती प्रदेश सरकारले गरेको सहयोग अविस्मरणीय भएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताए । ठूलोभोर्ले नजीक कोलडाँडा क्षेत्रमा करीब ४४ घरपरिवार गुरूङ समुदायको बस्ती छ ।
रसुवा जिल्लाको भोर्ले एवं ठूलोगाउँसमेतका क्षेत्रमा २५० भन्दा बढी गुरूङ समुदायको घरबस्ती रहेको बुद्धिजीवी बमबहादुर गुरूङले बताए ।

प्रतिक्रिया दिनुहोस्