स्वास्थ्यकर्मीले पाउने सुविधामा कुनै विभेद हुनेछैन: स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं भदौ १२ ।

सरकारले स्वास्थ्यकर्मीले पाउने सुविधामा कुनै विभेद नगर्ने प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद नगरिने बताएका हुन् ।

आज नेपाल चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्यालय संघ हिसान, नर्सिङ एसोशियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी सघं लगायत संस्थाका प्रतिनिधिसँगको छलफलमा मन्त्री ढकालले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताएका हुन् । स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने उनको भनाई छ ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा काम गर्ने क्रममा केही कमजोरी भएका भए त्यसलाई सुधार गरेर अघि बढ्न सकिने उल्लेख गरेका छन् । कतिपय अवस्थामा बनिसकेको कार्यविधि वा निर्देशिकामा पनि त्रुटि रहेको र त्यस्ता विषय सच्चाइने उनको भनाई छ ।

मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिएका छन् । यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरि एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र रु २५ लाखको बीमाको व्यवस्था गरिसकेको मन्त्री ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्